लोड हुँदैछ…
अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि, २०६५ बमोजिम हवाई मार्गबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको प्रवेश, बसोबास तथा प्रस्थानलाई नियमन गर्नुका साथै नेपाली नागरिकहरूको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने उद्देश्यले अध्यागमन कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना गरिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मिति २०८० मंसिर ७ गतेदेखि विमानस्थल परिसरमै यस कार्यालयले आफ्नो सेवा प्रारम्भ गरेको हो। नेपालको अध्यागमन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष, प्रभावकारी, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउँदै नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
अध्यागमन ऐन, नियमावली, कार्यविधि, विभागीय परिपत्र तथा प्रचलित निर्देशनबमोजिम यस कार्यालयले विमानस्थलमार्फत आवतजावत गर्ने स्वदेशी तथा विदेशी यात्रुहरूको यात्रा सम्बन्धी कागजातहरूको परीक्षण, प्रमाणीकरण तथा अनुगमन गर्ने, कानुनबमोजिम प्रस्थान अनुमति प्रदान गर्ने तथा विदेशी नागरिकहरूलाई प्रचलित कानुनअनुसार भिसा जारी गर्ने कार्य सम्पादन गर्दै आएको छ।